मानव बेचविखन नियन्त्रण ऐन संशोधन हुनुपर्ने
मकवानपुर । हेटौंडामा आज मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि ऐनलाई समय अनुसार संशोधन हुनु पर्ने विषयमा स्थानीय पत्रकारहरुसँग छलफल सम्पन्न भएको छ । महिला कानून र विकास मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा संघीय ऐनलाई पछ्याउँदै प्रदेश सरकारहरुले निर्माण गरेको कानूनमा केही संशोधनको अवश्यकता औल्याईएको थियो । कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले संघीय सरकारको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १३ लाई प्रदेशहरुले हुबहु ऐन ल्याएको सन्दर्भमा समयानुकुल संशोधन हुनु पर्ने जीकिर गरेको छन् । अधिवक्ता श्रेष्ठका अनुसार दफा २३ मा रहेको समिति गठन गर्न सक्ने बुँदा संशोधन गरी प्रादेशिक र स्थानीय तहमा गठन गर्ने नीति बनाइनुपर्ने बताएका छन् ।
उनका अनुसार घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६ को पनि दफा ९, दफा ११ को सेवा केन्द्र, दफा १२ को सेवा कोष र १२ को क को संरक्षण अधिकृतको विषयमा पनि संशोधन हुनु पर्ने अधिवक्ता श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा अधिवक्ता मिरा ढुङ्गाना, अधिवक्ता विनोदचन्द्र देवकोटा लगायतले मानव बेचविखन तथा ओसारपसारको बर्तमान अवस्थाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा मकवानपुरका विभिन्न सञ्चारमाध्यममा कार्यररत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सञ्चारकर्मीहरुसँगको छलफल पछि प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसहित कानून समितिका पदाधिकारी र प्रदेश सभाका सदस्यहरुसँग मानव बेचविखन तथा ओसारपसार सम्बन्धि अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।










