पोर्चुगलमा पक्राउ परेका अभियुक्तलाई काठमाडौं ल्याइयो

हेटौडा न्युज
३० श्रावण २०७८, शनिबार १६:४६
;

मकवानपुर । नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पोर्चुगलबाट पक्राउ गरेको छ ।

सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देवः विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप लागेकामध्ये काभ्रे भुम्लु गाउँपालिका–१ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् ।

मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंकका विभिन्न शाखा कार्यालयमा विभिन्न सवारी साधन सुरक्षण वापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रुपैयाँ लिएका थिए । उनीहरुले ऋण नतिरेपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*