संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।
संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा पुरयाएको योगदानको सम्मान गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
२०७२ सालको भूकम्पमा परी संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको निधन भएको थियो । २०३७ सालमा क्याम्पस स्थापना भएदेखि क्याम्पस प्रमुख हुनुभएका श्रेष्ठले २०४५ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
क्याम्पसका पूर्वविद्यार्थी संगठनका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय शालिक निर्माण समिति गठन गरिएको छ । सोमबार मकवानपुर क्याम्पसमै बसेको पूर्वविद्यार्थी संगठनको बैठकले शालिक निर्माण समिति र अनुगमन समिति निर्माण गरेको संगठनका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
शालिक निर्माण समितिको सचिवमा अर्जुनप्रसाद चौलागाई, कोषाध्यक्षमा माया पौडेल, सदस्यमा प्रताप विष्ट, विनोद रिजाल, ईन्द्रप्रसाद नेपाल, र प्रभाकर पाण्डे रहेका छन् । यस्तै अनुगमन समितिको संयोजकमा यमबहादुर सिलवाल, सदस्यमा हरिबहादुर राउत, मोहनप्रसाद शर्मा र सत्यनारायण सिलवाल रहेका छन् ।










