दुर्घटनामा घाइते भएका मौसम लामाको उपचारका क्रममा मृत्यु
मकवानपुर । भिमफेदी गाउँपालिका वडा नम्बर –१ बाघझोरामा सुमो र स्कुटर दुर्घटनामा घाइते भएका मौसम लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने १७ वर्षीय मौसम लामाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । लामाको उपचारको क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शनिबार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७९३१ नम्वरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ३–०३ प १३१९ नम्वरको स्कुटर भिमफेदी –१ बाघझोरामा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा लामा सहित स्कुटरमा सवार सोही ठाउँ बस्ने १८ बर्षीय सुशिल लोप्चन घाइते घाइते भएका थिए । लोप्चनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।










