हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धी निशुल्क शिविर शुरु
मकवानपुर । हेटौंडा अस्पतालमा आज विहानबाट शुरु भएको निशुल्क मुटुरोग सम्बन्धी शिविरमा विरामीहरु सेवा लिन आउने क्रम शुरु भएको छ ।
शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग बिशेषज्ञबाट आज शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले निशुल्क शिविरका कारण मकवानपुरका मुटुका विरामीहरुलाई उपचार गराउन सहज भएको बताए ।
बागमती प्रदेश मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा शुरु भएको शिविरमा मुटुरोग सम्वन्धी ७ जना बिशेषज्ञ डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले सेवा दिने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए । निशुल्क शिविरका लागि जिल्लाका दश वटै स्थानीय तहबाट बिरामीले नाम टिपाएका छन् ।
मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइएको प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले जानकारी दिए ।










