आज प्रधानसेनापती शर्मा भिमफेदीको चिसापानीगढी आउँदै
मकवानपुर । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गर्न आज भिमफेदी आउने भएका छन् ।
आज बिहान १० बजे प्रधानसेनापती शर्मा भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गर्न आउने भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिएका छन् ।
कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिसकिएको छ । निर्माण व्यवसायी कम्पनी अनक÷माउन्टेन÷गोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।
चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने सापकोटाले बताए ।










