अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु
मकवानपुर । सवारी दुर्घटनाको विषयमा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।
प्रहरीले बल प्रयोग गरि राजमार्ग सुचारु गरेको हो । प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रयोग गरि प्रदर्शनमा उत्रिएकाहरूलाई तितरबितर गरेको छ । सडकमा रहेको अवरोध हटेसंगै राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर स्थानीवासीले आज सडक अवरुद्ध गरेका थिए । मृतकका आफन्त तथा हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्द पारेका थिए ।
सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको हो । बसको लापवाहीको कारण घिमिरेको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले सडक अबरुद्ध पारेको बताईएको छ । उनिहरुले बस चालकलाई कारबाहीको माग गरेका छन् ।










