बार एसोसिएसनले आजदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने
मकवानपुर । कानुन व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै साङ्केतिक प्रदर्शन गर्दै आएको थियो । कोरोना सङ्क्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।
सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन १ सय ५ दिन पुगिसकेको छ । बारले इजलास बहिस्कारदेखि प्रशासनिक कामकारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ ।










