मकवानपुरमा बन्दको प्रभाव: यातायात फाट्टफुट्ट, व्यवसाय बन्द
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृवको नेकपा सहित ६ दलिय मोर्चाले आवहन गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा आंशिक रुपमा देखिएको छ ।
विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् ।मकवानपुरका लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यो समाचार तयारपार्दा सम्म जिल्लामा कुनै क्षति नभएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरुले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।










