महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुँइचो
मकवानपुर । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथमा मेला भर्न बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।
मेला व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कोष सञ्चालक परिषद्का अध्यक्ष प्रेम आलेको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन भएको छ । भक्तजनको आकर्षणका लागि पशुपतिका भित्तामा शिव–पार्वतीलगायतका भगवान्को चित्र बनाइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।










