दरौंदी नदीमा बेपत्ता भएका युवकको शव फेला
मकवानपुर । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । डोजरको सह–अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलबार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










