हामिले गरेका कामबाट मन्त्रालय टुक्र्याउनुको औचित्य पुष्टि हुन्छ: मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेशको विकास गर्नकै लागी आफुहरुले मन्त्रालयको सङ्ख्या बढाएको बताएका छन् ।
बागमती प्रदेशका १३ जिल्लाका विभिन्न सहकारी अगुवाहरुको दुई दिने कार्यशालाको हेटौंडामा उद्घाटन गर्दे मुख्यमन्त्री पाण्डेले मन्त्रालय टुक्र्याएर खर्च बढाएको आरोपको खण्डन गर्दै सहकारी विकासकै लागि छुट्टै मन्त्रालयका रुपमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाईएको बताए । उनले सरकारले काम गरेर मन्त्रालय टुक्र्याउनुको औचित्य पुष्टि गर्ने दाबी समेत गरे ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको अध्यक्षतामा भएको कार्यशालामा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायाण देवकोटाले बोर्डको तर्फबाट प्रस्तुतिकरण दिएका थिए । कार्यशाला भोलिसम्म चल्नेछ । नेपालमा विभिन्न उद्देश्य राखेर २९ हजार सहकारी सञ्चालनमा रहेका छन् । बागमती प्रदेशका करीब ११ हजार सहकारीहरु सञ्चालनमा रहेका छन् ।











