भीमफेदीमा १५ सैयाको अस्पताल बन्ने, जेष्ठनागरिकहरुबाट शिलान्यास

मकवानपुर । मकवानपुर जिल्लाको तत्कालिन सदरमुकाम भीमफेदी गाउँपालिकामा १४ सैयाको पृथ्वीचन्द्र अस्पताल भवनको शिलान्यास गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच भीमफेदी–५ र ६ नम्बर वडाका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । हाल अस्पताल शिलान्यास गरेको अस्पताल परिसरमा एक सय १५ वर्ष अघि प्राथामिक स्वास्थ चौकी स्थापना भएको थियो । एक सय १४ वर्ष पहिले मकवानपुरकै पहिलो स्थास्थ्य चौकी स्थापना भएको भिमफेदीमा अहिले १५ सैयाको अस्पताल स्थापना भएपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । संघीय सरकार र गाउँपालिकाको १२ करोड ६१ लाखको लागतमा अस्पताल भवन निर्माण हुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
आधुनिक समाजमा जेष्ठ नागरिकहरु अपहेलित हुदैँ आएको भन्दै जेष्ठ नागरिकहरुलाई सम्मान दिलाउँन जेष्ठनागरिकहरुबाट अस्पतालको शिलान्यास गराईएको उनको भनाई छ । २०८१ फागुन १५ गते सम्ममा अस्पतालको निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । अस्पताल सञ्चालनमा आएपछि भीमफेदी गाउँपालिकाका नागरिकदेखि इन्द्रसरोवर गाउँपालिका कुलेखानीका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । अस्पताल भवनमा ३ वटा ब्लक रहनेछ । लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताईएको छ ।