बागमतीको जनता माविमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड
मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ स्थित जनता मावि फापरबारीमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ ।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए । छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो ।
बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए । स्थानीय समेत रहेका तीन शिक्षकहरु केहिदिन देखि विदामा बसेको जानकारी आएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनले प्रहरीमा कुनै उजुरी नआएको बताउँदै घटनाको आवश्यक थप अनुसन्धान भईरहेको बताए ।










