जनता मावि प्रकरण: अधिकारकर्मीद्वारा स्थलगत निरीक्षण
मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाको विषयमा मकवानपुरका बालअधिकारकर्मीहरुले स्थलगत निरीक्षण गरेका छन् ।
मंगलवार विद्यालयको कक्षा ४ देखी ८ सम्म अध्ययनरत् करिब ७५ जना छात्रालाई विद्यालयको ३ जना शिक्षकहरुले दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यालयमा तोडफोड तथा तालाबन्दी गरेका थिए । मकवानपुरमा बालबालिका र हिंसाविरुद्ध लामो समयदेखि कार्यरत संघसंस्थाले घटनाको विषयमा प्रत्यक्षरुपमै घटनास्थलमै पुगेर पीडित विद्यार्थीसँग भेटघाट गरेको पत्रकार सम्मेलन गर्दे जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा मानव अधिकार संरक्षण तथा मानव वेचविखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले ‘छात्रामाथि भएको अमानवीय र जघन्यअपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताईन् ।
सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधिहरु घटनाको विषयमा जानकारी लिन घटना स्थलमा पुगेका थिए । कक्षा ४ देखि ८ सम्मका १५ जना विद्यार्थीले विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले आफूहरुलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए । विद्यालयमा उनीहरुले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरेपनि पीडित विद्यार्थीले शिक्षकलाई हदैसम्मको कारबाही गर्दै तोडफोडमा उत्रिएका थिए ।











