नारायणी संघ हेटौंडाद्वारा बीमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मकवानपुर । नारायणी संघ हेटौंडा र पुरानो नारायणी यातायात कम्पनी प्रा.लि.ले संयुक्त रुपमा बीमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडामा आयोजित कार्यक्रममा मोटर बीमाको विधमान ऐन कानून र व्यवहारीक चुनौती तथा मोटर बीमाका विषयमा यातायात व्यवसायीले पुर्याउनु पर्ने होशियारीका बारेमा विषय विज्ञका रुपमा सर्भेयर आनन्द राम पौडेल र सानिमा जनरल इन्सुरेन्सका प्रबन्धक अर्जुन सुवेदीले आ–आफ्नो धारणा व्यक्त गरे । मोटर इन्सुरेन्समा बढी रकमको कोटेशन पेश गरी बढी बिल बनाए इन्सुरेन्सबाट बढी रकम पाउन सकिन्छ भन्ने गलत धारणा रहेको तर वास्तवमा यस्ले व्यवसायी र बीमाबीचमा तिक्तता मात्र बढाएको जानकारी गराउंदै वास्तवमा यथार्थ खर्च मागदावी गर्दा नै उचित बीमा रकम प्राप्त भईरहेका हुंदा यथार्थ खर्चको क्लेम गर्दा व्यवसायी, सर्भेयर र बिमा तिनै पक्षबीचमा सुमधुर सम्बन्ध रहन जाने अन्तरक्रियामा छलफल भएको छ ।
नारायणी संघ हेटौडाले आफ्ना सवारीहरुको तेस्रो पक्ष दुर्घटनाको पनि जिम्मा लिने नीति अगाडी बढाएको वर्तमान अवस्थामा अत्यधिक जोखिमपूर्ण काममा संस्थाले हात हालेको हुंदा सम्बन्धित दुर्घटनाको बिमादावीमा अत्यन्तै चनाखो हुनुपर्ने देखिएको छ । अन्तरक्रिया कार्यक्रममा संघका कानुनी सल्लाहकार इश्वरराज ढकाल, संघका उपाध्यक्ष भरतपुर क्षेत्र उपाध्यक्ष अशोक पोखरेल, वीरगंज क्षेत्र उपाध्यक्ष बिनोदकुमार मानन्धर लगायत पदाधिकारी, कार्यसमिति सदस्य र सबै क्षेत्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।










