निजगढ क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवासहित शीर्ष नेता निजगढ पुगे

हेटौडा न्युज
१८ असार २०७९, शनिबार १२:३३
;

मकवानपुर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेता निजगढ पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ निजगढ पुगेका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न निजगढ पुगेको छन् । काठमाडौंबाहेक अन्यत्र पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुरूप अहिले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो। त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो । ठुला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले वन जङ्गल फडानी, पानीको मुहान, जैविक पैदावार लगायतका प्राकृतिक स्रोतसाधनमा पर्ने प्रभाव र बस्ती स्थानान्तरण लगायतका विषय समेटिएको थियो।

१२ जेठमा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको हो । सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक प्रधानमन्त्री सहित दलका शीर्ष नेता त्यहाँ पुग्न लागेका हुन् ।–नेपाल प्रेस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*