हेटौंडामा पनि मनाइयो ईद
मकवानपुर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) हेटौंडामा पनि मनाईएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले तीन दिन मनाउने बकर ईदको पहिलो दिन आज बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरेका छन् । हेटौंडा–४ स्थित रहेको मकवानपुरकै सबैभन्दा पुरानो ठूलो मस्जिद जामे मस्जिदमा आईतबार बिहान मुस्लिम धर्मावलम्बीको भीड रहेको थियो । इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकर ईद मनाउने गरिन्छ ।
बकर इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। तीन दिन मुस्लिम समुदायले खाने साना–ठूला चारखुट्टे जनावरलाई अल्लाहका नाममा त्याग गर्ने पर्व बकर इद हो। पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गर्छन् । सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गर्छन् । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।










