हेल्प डेस्क नेपालद्वारा उपमहागर, प्रजिअ र यातायात व्यवसायीलाई ध्यानाकर्षण
मकवानपुर । सामाजिक क्षेत्रमा कार्य गर्दे आएको हेल्प डेस्क नेपालले हेटौंडा उपमहानगरपालिका, प्रमुख जिल्ला अधिकारी र नारायणी सघं हेटौंडालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बिहीबार हेल्प डेस्क नेपालका अध्यक्ष रामकृष्ण शिवाकोटीले उपमहानगरका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र नारायणी सघं हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मकवानपुरको बजार क्षेत्रमा सार्वजनिक सवारी साधन विश्राम स्थल क्षेत्रहरुमा घुम्ती शौचालय, निशुल्क पिउने पानी, डस्वीनको व्यवस्था अविलम्व कार्यान्वयनका लागि ध्यानाकर्षण गराईएको हेल्प डेस्क नेपालका अध्यक्ष रामकृष्ण शिवाकोटीले जानकारी दिए ।यस अभियानको शुरूवात हेल्प डेस्क नेपालले मकवानपुर बाट शुरूवात गरि देशै भरि संचालन गर्ने योजना बनाएको अध्यक्ष शिवाकोटीले बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ “उपर्युक्त सम्बन्धमा यस हेल्प डेक्स नेपालले कोभिड –१९ को महामारीका समयमा मात्रै होईन विभिन्न सामाजिक सेवाका विविध क्रियाकलापहरु गर्दै आएको विदितै छ । यसै सन्दर्भमा हामीले हाम्रो समाजलाई वातावरणीय दृष्टिकोणले समेत स्वच्छ राख्नु अपरिहार्य छ । तर पछिल्लो समय सडकमा गुड्ने सवारीहरुका यात्रुहरुले आफूले प्रयोग गरिसकेका विभिन्न सामग्रीहरु यात्रारत अवस्थामै सडक किनारमा फाल्ने गर्नाले वातावरण दुषित हुँदै गएको तर्फ ध्यानाकर्षण गराउँदछौं । दिनानुदिन वातावरणीय दृष्टिकोणले असर गरेको प्रति सबै आमजनसमुदायमा सचेतना फैल्याउँदै सार्वजनिक सवारी साधनहरुमा अनिवार्य डस्वीनको व्यवस्था कार्यान्वयनका लागि यहाँको ध्यानाकर्षण गराउँदछौं । साथै, जिल्लाका बजार क्षेत्रमा सार्वजनिक सवारी साधन विश्राम स्थल क्षेत्रहरुमा घुम्ती शौचालय, निशुल्क पिउने पानी, डस्वीनको व्यवस्था अविलम्व कार्यान्वयनका लागि अनुरोध छ । ”











