विद्यार्थीहरुको सहयोगमा चेपाङलाई च्युरी र मौरीको घार

मकवानपुर । जलवायु परिवर्तन हाम्रो विद्यमान प्रमुख चुनौतिको रुपमा आइपुगेको छ । जलवायु परिवर्तनले जलवायु सम्बन्धी कयौँ पक्षलाई प्रभावित तुल्याउछ । यसबाट विशेषत सीमान्तकृत समुदायमा बढि प्रभाव पर्ने देखिन्छ ।
सोहि समुदायलाई लक्षित गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडा क्याम्पसका प्रा.डा.बलराम भट्को नेतृत्वमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको समूहले राक्सिराङ् गाउँपालिका ७ धिराङका चेपाङ् समुदायमा १५ वटा मौरीको घार निशुल्क वितरण गरेको हो ।
चेपाङहरूको परम्परा च्यूरीको रूखसँग रहेको छ । विवाहपछि समेत छोरीलाई च्युरीको बोट उपहार दिने उनीहरुको परम्परा रहेकोमा पछिल्लो समय आधुनिकतासँगै उनीहरुले यस्ता परम्परा छोडिरहेका छन्। तर पछिल्लो समय जलवायु परिवर्तनले चेपाङ् र च्युरी दुवैको अस्तित्व संकटमा पर्दै गएको सन्दर्भमा फरेष्ट्री युथ नेटवर्क नामक विद्यार्थीहरुको समुहले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सचेतनामूलक कार्यक्रम गर्दै ३ सय वटा च्युरीलगायत अन्य बहुउद्देश्यीय विरुवाहरु वृक्षारोपण गर्दै सो समुदायको आयआर्जनमा समेत टेवा पुरउन भन्दै मौरीको घार वितरण गरेका छन्।
चेपाङ्ग च्युरी र चमेराको चक्रबारे सचेतना गर्दे च्युरी जोगाउन सके मौरी पालनका लागि फलदायी हुने समुदायमा विद्यार्थीको समुहले सचेतनामूलक कार्यक्रम गरेका थिए । चेपाङ् समुदायको आर्थिक अबस्था सबल हुने, मौरी पालनकै लागि समुदायले च्युरीको जर्गेना गर्ने हुँदा जलवायु परिवर्तनको असर केहि हदसम्म कम हुने सहभागी विद्यार्थीहरुको भनाई रहेको छ ।
सो स्थानका चेपाङ् समुदाय भने आर्थिक असक्षमताका कारण मौरीपालन गर्न नसकेको अवस्थामा निशुल्क मौरीको घार पाएपछि खुशी व्यक्त गररेका छन्।
परम्परागत मौरी पालन गरिरहेका चेपाङ् समुदायलाई मौरी पालन तालिम र आधुनिक घार प्रदानबाट आर्थिक अवस्था केहि सबल हुने आयोजक फरेष्ट्री युथ नेटवर्कले जनाएको छ । स्थानीय विद्यालयमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।