ट्राफिक प्रमुखहरुको एउटै स्वर : घटनास्थल पुग्न बाईक समेत छैन
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले आफू मातहतका १० जिल्लाका ट्राफिक प्रहरी प्रमुखसँग अन्तरक्रिया गरेको छ । सबै जिल्लाका ट्राफिक प्रहरी प्रमुखलाई आफूले सम्पन्न गरेको कार्य सम्पादन प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणासमक्ष प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा अधिकांश जिल्लामा सवारी साधनको अनुपातमा हाल मौजुदा ट्राफिक प्रहरी नपुग भएको, सवारी दुर्घटना स्थलमा पुग्ने दुई पाङ्ग्रे सवारी समेत नभएको, ट्राफिक प्रहरीको आफ्नै कार्यालय भवन नरहेको जस्ता प्रहरीका लागि न्युनतम आधारभूत सुविधा समेत नपाएको गुनासो गरेका थिए ।
प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाले जिल्लाबाट आएका विषयमा प्रदेश प्रहरीले आवश्यक पहल गर्ने बताएकी छिन् । प्रदेश प्रहरीले सबै जिल्लामा ट्राफिक सचेतनामूलक कार्यक्रम विद्यालय स्तरबाटै गरिरहेको समेत सञ्चारकर्मीहरुलाई बताएकी छिन् ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रनाउ सुजितकुमार ओझाले ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रदेश प्रहरी कार्यालय, हेटौंडा मातहत बागमती प्रदेशमा काठमाडौं उपत्यका बाहेक १० जिल्ला कार्य क्षेत्र रहेको छ ।अन्तरक्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरू, सञ्चारकर्मीसहित ७५ जनाको सहभागिता थियो ।










