मनहरीमा महिला नेतृत्व विकास कार्यक्रम सम्पन्न
मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिकाको आयोजनामा महिलाहरूका लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । माघ २ गतेदेखि सुरु भएको ४ दिने कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
नेतृत्व तथा क्षमता विकास कार्यक्रमको समापन समारोहमा बोल्दै आयोजक मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहभागीहरूले कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र राज्यकोषको सही सदुपयोग भएको ठहरिने बताए । महिलाहरूले निर्णायक भूमिकामा आफूहरूलाई स्थान नदिएको गुनासो आइरहँदा नेतृत्वदायी भूमिका पाउनका लागि दाबी गर्न पहिले आफैँ अघि सर्नुपर्ने कालाखेतीले बताए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले समाजका सीमित महिलाहरू अघि बढ्दैमा सामाजिक परिवर्तन सम्भव नहुने भएकाले सबैलाई नेतृत्व तहमा ल्याउने प्रयासस्वरुप कार्यक्रम आयोजना गरिएको बताइन् । महिलाहरू नेतृत्वदायी भूमिका अग्रसर भएमात्र साँच्चिकै परिवर्तन महसुस गर्न सकिने उनको भनाइ थियो ।
गाउँपालिकाका महिला जनप्रतिनिधि, विभिन्न उपसमितिका पदाधिकारीहरू तथा संघसंस्थाका प्रतिनिधि लक्षित कार्यक्रममा ३४ जनाको सहभागिता रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शीला अधिकारीले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण साहित्यकार तथा सञ्चारकर्मी छवि अनित्य र रवीन्द्र कार्कीले गरेका थिए ।










