अख्तियारलाई प्रदेश प्रमुखको सुझावः ठुला माछा समात्न खुट्टा नकमाउनू

हेटौडा न्युज
२८ माघ २०८१, सोमबार १७:४५
;

मकवानपुर/बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठुला भ्रष्टाचारका छानबिनमा खुट्टा नकमाउन आग्रह गरेका छन् । भ्रष्टाचारका साना मुद्दाको संख्यात्मक विवरण देखाएर ठुला मुद्दामा हात हाल्न हिचकिचाएको आरोप अख्तियारमाथि लाग्ने गरेको भन्दै उनले ती आरोपलाई गलत सावित गर्नका लागि पनि सबैखाले भ्रष्टाचारी माछालाई पक्रन सक्नुपर्ने प्रदेश प्रमुख देवकोटाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै देवकोटाले अख्तियारको प्रगति झिनो मात्र देखिएको भन्दै निराशा व्यक्त गरे । सकारात्मक र महशुस गर्न सकिने परिणाममुखी काम हुनुपर्ने भन्दै उनले सबैखाले ढिलासुस्तीप्रति गम्भीर हुनुपर्ने बताए । भ्रष्टाचारलाई समृद्धि बिरुद्धको घातक रोग भन्दै प्रदेश प्रमुख देवकोटाले त्यसका परिष्कृत हुन पनि अख्तियारलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सबैतिर नीतिगत भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको उल्लेख गरे । सबैखाले पारदर्शिताका लागि अख्तियारका सुझावलाई बागमती प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको भन्दै मन्त्री लामिछानेले भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र नभई सबैको दायित्व भएको बताए ।

आयोगका हेटौँडा कार्यालय प्रमुख उमाकान्त आचार्यले तीनै तहका सरकारमा दायित्वबोध नभएसम्म भ्रष्टाचार नियन्त्रणमा आशातित सफलता आउन नसक्ने बताएका छन् ।

‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रबर्द्धनमा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ आयोगले सोमबार स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा आयोगको हेटौँडा कार्यालयले नगद २० हजार सहित अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट शाखा अधिकृत इन्द्रप्रसाद भट्टराईलाई पुरस्कृत गरेको छ । यस्तै नायब सुब्बा यमुना बस्नेत, प्रहरी नायव निरीक्षक स्वागत पोखरेल र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्कीलाई अख्तियार सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*