मौलाकाली केबलकार आजबाट पुनः सञ्चालनमा
चितवन । नवलपुरको गैंडाकोटमा अवस्थित मौलाकाली केबलकार आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । गत भदौ २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा २ महिनाभन्दा लामो समयपछि पुनः सुचारु हुन लागेको हो । भाद्र २४ गतेको जेन्जी आन्दोलनका तोडफोड र आगजनीका कारण केबलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केबलकारको सेवा बन्द थियो । स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार केबलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने बताएका छन् । केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा समेत प्रभावित हुन पुगेको थियो ।
केबलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको थियो । गत २०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करीब ६ लाख सेवाग्राहीले सेवा लिईसकेका छन् ।











