उद्योग संघका नवनिर्वाचित कार्यसमितिलाइ नारायणी यातायातको स्वागत

उद्योग संघ हेटौंडाका नवनिर्वाचित कार्यसमितिलाई नारायणी यातायात व्यवसायी संघ हेटौंडाले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नारायणी यातायात व्यवसायी संघले उद्योग संघको नवनिर्वाचित कार्यसमितिलाई खादा र अबीर लगाएर स्वागत तथा बधाई व्यक्त गरेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै उद्योग संघ हेटौंडाका नवनिर्वाचित अध्यक्ष लेखराज पोखरेलले उद्योगी र यातायात व्यवसायी परिपुरक भएको भन्दै सँगै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘हामीले उत्पादित बस्तु ढुवानी गरी बजारीकरण गर्न यातायातको अनिवार्यता छ । त्यसैले पनि हाम्रो सम्बन्ध व्यवसायीसँग सुमधुर हुनु जरुरी छ ।’ पोखरेलले भने ।
उद्योग संघका कार्यसमितिलाई स्वागत गर्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायातमा सिन्डिकेट हटाउने नाममा सरकारले कानुनी अप्ठेरो सिर्जना गरेको भन्दै यातायात व्यवसायीहरुले पेशा नै छाड्नुपर्ने अवस्था आएको बताए । उद्योगी व्यवसायी, यातायात व्यवसायीको हितको लागि वर्तमान सरकारले काम गर्न नसकेको भन्दै विकास र समृद्धिको नारा झुठो सावित हुँदै गएको बताए । संघका महासचिव सरोज खनालले यातायात व्यवसायीलाई परेको करको समस्याको विषयमा बोलेका थिए ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघका अध्यक्ष पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दुवै संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो ।