चार हजार रुपैयाँ घुस लिएको आरोपमा कार्यालय सहयोगी पक्राउ
चार हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले जिल्ला प्रशासन कार्यालय राजविराज सप्तरीमा कार्यरत कार्यालय सहयोगीलाई पक्राउ गरेको छ।
मुद्दा शाखामा कार्यरत यादवले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय सहयोगी केशवकुमार यादव पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विचाराधीन अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुङ्गाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा दोषी पाइएको हो ।
भ्रष्टाचार निवारण ऐन बमोजिम यादवलाई बिगो चार हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाइएको छ ।










