महागढीमाईका मेयर र मुकेश समूहबीच झडप हुँदा ४ जना घाईते
महागढीमाई नगर प्रमुख उपेन्द्र यादव र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुशवाह पक्षबीच झडप हुँदा मुकेश कुशवाहसहित ४ जना घाइते भएका छन् ।
तरुण दलका स्थानीय नेता साजन गुप्ता, महागढीमाई नगरपालिकाका कार्यालय सहयोगी धिरेन्द्र सिंह लहेरा र ट्याक्टर चालक साहेब यादव घाइते भएका हुन् ।
घाइते मध्ये तीन जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने छाती र टाउकोमा चोट लागेकाले मुकेशलाई काठमाडौं लगिएको छ ।
बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा नाला निर्माणको विषयमा सुरु भएको विवादले राजनीतिक रुप लिएको हो ।
महागढीमाई नगरपालिका वडा नं २ को वडा कार्यालय र सशस्त्र प्रहरी क्याम्प भएको बजार टोलमा बिहीबार बेलुका झडप भएको हो ।
बिहीबार मुकेशका बुवाले मेयर यादवविरुद्ध भेदभाव तथा अपमान जन्य व्यवहार कसुरको मुद्धा दर्ता गराएका छन् । त्यसअघि मेयरको यादवको उजुरीको आधारमा प्रहरीले दिपेन्द्र कुशवाहलाई ‘अभद्र व्यवहार’ मुद्धामा पक्राउ गरी कारबाही थालेको छ ।