डिसइन्फेक्सनले मानिसलाई झन् असर गर्ने, तत्काल बन्द गर्न बिशेषज्ञको सुझाव

केही दिन देखि कोरोना भाईरस एकअर्कामा नसरोसु भन्दै विभिन्न स्थानमा मानिसको बाहिरी शरीरमा डिसइन्फेक्सन गरिदै आएको छ । अझ कतिपय स्थानमा सडकमा स्वास्थ्यकर्मीहरु नै बसेर स्प्रे गर्दै आएको देखिएको छ ।
तर स्वास्थ्य विशेषज्ञहरूले यसरी शरीरलाई नै डिसइन्फेक्ट गर्दा यसले स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने बताएका छन् । उनीहरूले डिसइन्फेक्सनले भाइरस नमार्ने मात्र होईन स्वास्थ्यमा समस्या ल्याउने भन्दै तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले यसरी स्प्रे गर्दा त्यसमा प्रयोग भएको केमिकलले एलर्जी, आँखा र श्वासप्रश्वास समस्या शुरुहुने बताएका छन् ।
डिसइन्फेक्सन गर्दा श्वासबाट केमिकल शरीरभित्र छिर्छ जसले गर्दा दमको समस्या देखा पर्नसक्छ ।
सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार भाइरस मार्छ भन्ने भ्रममा शरीरलाई नै डिसइन्फेक्सन गर्नु व्यवहारिक नभएको बताएका छन् । उनका अनुसार त्यसरी भाइरस मर्ने भए त विश्वले नै यही प्रयोग गर्ने थियो । पछिल्ला दिनमा कतिपय स्थानमा डिसइन्फेक्सन टनेल समेत निर्माण गरिएको छ ।
विशेषज्ञहरुको अनुसार भाइरसबाट जोगिन अहिले सम्म साबुन पानीले हात धुनु रहेकोले त्यस्ता ठाउँहरुमा साबुन र सफा पानीको व्यवस्था नै उत्तम रहेको बताएका छन् ।