योजना निर्माणका लागि हेटौंडामा ड्रोन सर्वेक्षण
हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा ड्रोन सर्वेक्षण गर्न आजबाट सुरु गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महले ड्रोन उढाएर सर्वेक्षण सुरु गरेका हुन् ।
नेपाल इन्जिरियरिङ्ग एसोसिएसन बागमती प्रदेशको सहयोगमा ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य सुरु भएको हो । पहिलो चरणमा ७ वटा वडामा ड्रोन सर्वेक्षण गर्ने र दोस्रो चरणमा बाँकी वडामा ड्रोनबाट सर्वेक्षण गर्ने तयारी गरिएको बताइएको छ ।
उपमहानगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई साता हेटौंडाका विभिन्न वडामा ड्रोन उड्नेछ ।
उपमहानगरपालिकालाई आगामी वर्षको योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यले ड्रोन मार्फत् सर्बेक्षण सुरु गरिएको मेयर महतले बताए ।
हेटौंडाको जग्गा जमिन कतै मिचिएको, बाढी, पहिरोको जोखिम परेको वा कुनैपनि स्थानमा परेका समस्या तत्काल समाधान गर्नका लागि यसले सहयोग पुर्याउने उनले बताए ।
इन्जिरियरिङ्ग एसोसिएसन, ड्रोन नेपाल लगायतका सस्थाको सहयोगमा कुनै लगानीबिना नै ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागिएको हो । ड्रोनले जिपीएस लोकेशन लिनुका साथै उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण घर, स्कूल, सडक, जङ्गलदेखि सबै भौतिक संरचना क्यामराले खिचेर नक्सा तयार पार्नेछ ।










