मोटरसाइकल सहित १० लाख नगद बरामद

रौतहट प्रहरीले १० लाख १० हजार रूपैयाँ सहित मोटरसाइकल बरामद गरेको छ । प्रहरीको गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका परोहा डुमरियाबाट सो रकम सहित मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीको टोलीले बिहीबार बिहान गस्ती गर्दै गर्दा ना ५४ प २११६ नम्बरको मोटरसाइकलसहित सो रकम बरामद गरेको हो । मोटरसाइकल चालक भने प्रहरीलाई देख्ने वित्तिकै नजिकैको नहरमा झोला र मोटरसाइकल छोडेर भागेका छन् ।
प्रहरीले झोला खोलेर चेकजाँच गर्ने क्रममा नेपाली १० लाख १० हजार नगद फेला परेको प्रहरी चौकी औरैयाले जनाएको छ ।
प्रहरी चौकी औरैयाका प्रहरी सहायक निरिक्षक ललित कुमार साहले रकम ल्याउने युवकको खोजि कार्य जारी रहेको बताए । उनले सो नगद कुन प्रयोजनको लागि ल्याइएको भन्ने बारेपनि अनुसन्धान भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्काले उक्त रकम र मोटरसाइकल तस्करको हुन सक्ने जनाएका छन् ।
लकडाउनको समयमा लुकीछिपी भारतीय सामान खरिद गर्न जाने क्रममा प्रहरीलाई देखेर तस्कर समूह भागेको हुनसक्ने अनुमान रहेको एसपी खड्काले जानकारी दिएका छन् ।
बरामद गरिएको नगद र मोटरसाइकल थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।