स्थानीय प्रशासन र मन्त्रालय बीच संक्रमितको संख्यामा विवाद

हेटौडा न्युज
९ जेष्ठ २०७७, शुक्रबार २२:३६
;

सर्लाहीको स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीच कोरोना संक्रमितकको तथ्याङ्क फरक परेको छ । मन्त्रालयले शुक्रबार कोरोना संक्रमितको सूची सार्वजनिक गर्ने क्रममा सर्लाहीको स्थानीय तहको नाम र वडा नम्बरसहित संक्रमितको संख्या नै गल्ती लेखिदिएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सर्लाहीमा १५ संक्रमित थपिएको जनाएको छ । तर जिल्ला प्रशासन कार्यालय सर्लाही तथा सम्बन्धित स्थानीय तहले आफूहरूले पठाएको नामावली भन्दा फरक तथ्याङ्क सार्वजनिक भएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार शुक्रबार थपिने संक्रमितको संख्या १४ मात्रै छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले आफुलाई पनि मन्त्रालयबाट १५ जनाकै तथ्याङ्क आएको बताए । तर जिल्लामा छानबिन गर्दा सर्लाहीका १४ जना मात्र संक्रमित देखिएको उनको भनाई छ । उनले भने ‘एक जना अन्तै कतै जिल्लाको परेको होला, त्यो त हामी कसरी जान्नु, संक्रमितको खोजबिन गर्दै छौं।’

संक्रमित भेटिएका सर्लाहीका दुवै स्थानीय तहका प्रमुखले पनि नामावली अनुसार १४ जना मात्रै संक्रमण देखिएको स्पष्ट पारेका छन्।

सर्लाहीको गोडैता नगरपालिकामा शुक्रबार १३ जना मात्र संक्रमित थपिएको  गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले बताए । तर मन्त्रालयले १४ जना कसरि पठायो सो बारे आफुलाई थाहा नभएको बताए । 

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सर्लाहीको रामनगर गाउँपालिकामा पहिलो पटक जम्मा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । यसरी शुक्रबार संक्रमण पुष्टि भएका ती एक जना कहाँका हुन्, अन्योल सिर्जना भएको छ।

मन्त्रालयले सर्लाहीको संक्रमित भेटिएको गाउँपालिकाको नाम तथा नगरपालिकाको वडा नम्बर समेत गल्ती लेखेको छ । मन्त्रालयको विज्ञप्तिमा उल्लेख गाउँपालिकाको नाम रामनगर बहुअर्वा नभएर रामनगर मात्रै रहेको छ भने गोडैता नगरपालिकामा १२ वटा मात्रै वडा रहेको छ । तर मन्त्रालयले सो नगरपालिकाको १३ र १४ नम्बरमा संक्रमित भेटिएको विज्ञप्ती जार िगरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*