बारामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

बारामा एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जिल्लामा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)मा कोरोनाको संक्रमण देखिएको बताएका छन् ।
संक्रमित व्यक्ति उपचारको लागि कलैयास्थित कोरोना अस्थायी अस्पतालमा लगिएको पङ्गेनीले बताए।
सर्लाही घर भएका ४९ वर्षका संक्रमित प्रहरी कलैयाकै बाल मन्दिरमा बनाइएको आइसोलेशनमा बस्दै आएका थिए। यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शखामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण भएको थियो। उनको काठमाडौंमा उपचार भइरहेको छ।
यो संगै बारामा संक्रमितको संख्या १३ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन्।










