राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ । प्रदेश ३ को राजधानीको लागि उपर्युक्त स्थानका लागि गठित “राजधानी सम्भाव्यता अध्ययन बिशेष समिति”का तर्फबाट सभासद दीपक निरौलाले संसदमा प्रतिवेदन पेश गरेका छन् । सभासद निरौलाले आफूहरुलाई दिएको जिम्मेवारी पूरा गरेको र बाँकी निर्णय संविधान बमोजिम हुने बताएका छन् ।
मकवानपुरको हेटौंडामा रहेको संसद बैठकमा यो बिषयले प्रवेश पाएपनि छलफल भने अर्को बैठकमा हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् । सभामुख श्रेष्ठले अस्थायी राजधानी कायम भैसकेपछि पुन अर्को स्थानमा सार्दा नयाँ स्थानमा भौतिक संरचना तयार गर्नुपर्ने हुनाले आर्थिक रुपले मात्रै होईन मनोबैज्ञानिक, सामाजिक समेत प्रभाव पार्ने धारणा व्यक्त गरेका छन् । उनले राजधानी कहाँ राख्ने भन्ने निर्णयको सबै अधिकार माननीय सदस्यहरुमा नै नीहित भएको धारणा व्यक्त गरेका छन् ।
त्यस्तै आज राजधानीको विषयले प्रवेश पाएपछि ३ नम्र प्रदेशको राजधानी हेटौंडा नै उपर्युक्त भएको भन्दै हेटौंडा नै स्थायी राजधानी तोकिनु पर्ने भन्दै प्रदेश सभा अगाडी स्थानीयहरुले धर्ना दिएका छन् ।
अघिल्लो शेर बहादुर देउवा सरकारले २०७४ साल माघ ३ गते प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडालाई घोषणा गरेको थियो । हाल कायम रहेको राजधानीका लागि भौतिक संरचना लगायतका कार्यमा मात्रै सरकारको करोडौं रकम खर्च भैसकेकोले पुन अर्को स्थानमा स्थान्तरण गर्दा राज्यले पुन थप व्ययभार वेहोर्नु पर्ने जानकारहरुको तर्क छ ।
संसदको बैठक भने अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।