थाहानगरमा शीतभण्डार ।

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य योजना मुताबिक मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माणको लागि शिलान्यास गरिएको छ । एक जिल्ला एक शीतभण्डार अभियान अन्तर्गत आज शुक्रबार ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले करीब साढे ११ करोडको लागतमा निर्माण हुन लागेको शीत भण्डारको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा जिल्लाको सम्वृद्धिको लागि शीतभण्डारको भूमिका महत्वपूर्ण हुने मन्त्री लामाले बताएका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदी, थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । थाहानगरपालिका वडा नम्बर ३ स्थित थाहानगर शीतभण्डार नाम दिईएको सो शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत चार करोड रुपियाँ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको ५० लाख रुपैयाँ सहित थाहा नगरपालिका र स्थानीय सहकारीको लगानी रहनेछ ।