मकवानपुर प्रहरीद्वारा अफिम, गाँजा र चोरीका मोवाईलसहित पक्राउ परेका सार्वजनिक

हेटौडा न्युज
१० फाल्गुन २०७५, शुक्रबार १४:२१
;

हेटौंडा, ९ फागुन । मकवानपुर प्रहरीले अफिम, गाजा र चोरीका मोवाईलसहित पक्राउ परेकालाई आज हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ का ४३ बर्षका चन्द्रबहादुर घलान, धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ३६ का जीवन तामाङ्गलाई २ सय ७३ किलो चरेश, १ सय ९० किलो चरेश बनाउने धुलो सहित हिजो बुधबार पक्राउ गरेको थियो । उनीहरुबाट बरामद लागू औषध चरेश र चरेश बनाउने धुलोको नेपाली बजारमा करीब १ करोड रुपैयाँ पर्ने जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताएका छन् ।  
त्यस्तै, पर्साका कालिकामाई गा.पा.वडा नं.२ बस्ने २८ बर्षीय हरेराम प्रसाद कुुुशवाहालाई लागु औषध कालो अफिम ५०० ग्राम र सेतो धुलो ५०० ग्राम सहित पक्राउ गरेको छ । उनलाई प्रहरीले हेटौंडा २ बाट पक्राउ गरेको जनाएको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौबाट खटिएको प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले बिशेष सुराकीको आधारमा लागु औषधसहित कुशवाहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै पर्सा जिल्ला जमुनिया गा.पा.वडा नं.४ औराहा बस्ने बर्ष ५४ को चिन्ता पंजियार थारुलाई पनि अवैध गाँजा र हतियारसहित पक्राउ गरेको छ । शरिर तथा साथमा रहेको झोला खानतलासी गर्दा खुकुरी थान १, टर्च लाईट थान १ र प्लाष्टिकमा पोका बनाईएको अवस्थामा चरेस बनाउने लागू औषध गाँजाको धुलो ६ पोकामा ६ किलो सहित थारुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
मकवानपुर प्रहरीले हेटौंडा बजारको पसलबाट बिहीबार राति मोवाईल चोरी गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाण्डौ बुढानिलिकण्ठ ६ बस्ने बर्ष १९ को राज लामा र काठमाडौं पशुपति परिसरमा बसोबास गर्ने वर्ष १८ को सरोज कार्की रहेका छन् । उनीहरुको साथबाट चोरी गरिएको पुरानो मोबाईल थान १२, सामसुङ्ग मोबाईलमा लाग्ने ब्याट्री थान ३, हाते घडी थान ६, चार्जर हेड फोन थान १, हेडफोन थान ९ साथै मल्टिप्लग थान १, सहित पक्राउ गरेको जनाएको छ । 
पत्रकार सम्मेलनमा अभियुक्तहरुलाई सार्वजनिक गरेसँगै मकवानपुर प्रहरी प्रमुखका रुपमा ३ दिन अघि हेटौंडा आईपुगेका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको परिचयात्मक कार्यक्रम समेत गरेको थियो । परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सिंहले प्रहरीले दिने शान्ति सुरक्षाका सेवा सहित लागू औषध नियन्त्रण, महिला हिंसा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने र सेवाग्राहीलाई प्रहरीको सेवामा सन्तुष्ट पार्ने जस्ता विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यस अघिका प्रहरी प्रमुख बुद्धिराज गुरुङ्ग प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएर अन्यत्र सरुवा भएसंगै गुरुङ्गको स्थानमा प्रहरी उपरीक्षक सिंह आएका हुन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*