मिलन र प्रितिको दोहोरीले हेटौंडामा धुलो उडायो ।
२४ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज सातौं दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज शुक्रबार लोक दोहोरी गायक मिलन लामा र प्रिति आलेले गाएको सेतो घोडा ए है क्या मिल्यो जोडा भाकामा दोहोरी गाउँदा मेलामा आएका दर्शकहरु चौरमा नाँचेको देखिन्थ्यो । संघका महासचिव प्रमोदसिंह रानाभाटका अनुसार मेलामा आज करीब २० हजार दर्शकहरुको उपस्थिति रहेको जनाएका छन् । स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको आजको मेलामा कृष्ण काफ्ले, प्रिति आलेले आफ्ना अन्य साँगितिक कोसेली प्रस्तुत गरेका थिए ।
भोलि फागुन २५ गते शनिबार निशान भट्टराई, लोक गायक सुनिल थापा, रेखा लामा आउने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले जानकारी दिएका छन् । आज मेलामा भरतपुर मेडिकल कलेजका स्त्री तथा प्रसुती विशेषज्ञहरुद्धारा १०८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने दैनिक निशुल्क स्वास्थ्य परिक्षण गरिने कार्यक्रम अनुसार भोली शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट निशुल्क आँखा शिविर हुने संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्णकुमार गुप्ताले बताएका छन् ।
मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ ।