हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् । किसान कुल प्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा बर्ड फ्लू देखिएको हो । कुखुरामा बर्ड फ्लु देखिएको पुष्टि भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले प्रहरी यस सम्बन्धमा भर्खरै आपतकालिन बैठक राखेका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा आज साँझ बसेको बैठकले प्रभावित क्षेत्रलाई आजैबाट शिल गरेको छ । बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिलाई कुखुराजन्य वस्तु ओसारप्रसार, बिक्री वितरणमा रोक लगाएको छ । उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी र प्राविधिक, सञ्चारकर्मीसहितको बैठकले सर्वसाधारणलाई पनि सचेत हुन आग्रह गरेको छ ।
तर गत फागुन २८ गते नै बर्ड फ्लुको रिपोर्ट आएकोमा पशु कार्यालयले आज ३० गते मात्रै सार्वजनिक गरेकोमा उपभोक्ता अधिकार मञ्च मकवानपुरले आपत्ति जनाएको छ । पशु कार्यालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी नदिई कुखुरा व्यवसायीलाई गोप्य रुपमा जानकारी दिई रिपोर्ट सार्वजनिक हुनु अघि नै संक्रमित कुखुरा तथा अण्डालाई बजार जान सहज गरिदिएको र जनस्वास्थ्यमा खेलवाड गरेको उपभोक्ता मञ्चका बासुप्रसाद खतिवडाले आरोप लगाएका छन् । करीब ३ साता अघि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कुखुरामा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो भने ‘रिजल्ट सस्पेक्टेड’ रिपोर्ट आएको थियो । वडा नम्बर ७, ८ र ११ वडामा संक्रमणका कारण करीब १५ हजार भन्दा बढी कुखुरा मरेका भएपनि सम्बन्धित निकायले कुखुराजन्य वस्तुको किनबेचमा कुनै रोक नलगाएको मञ्चले आरोप लगाएको छ । कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मकवानपुरको टोलीले कुखुराको नमूना परिक्षण गरेको थियो । तर परीक्षणको रिपोर्ट आउनु अघि प्रभावित क्षेत्रलाई सम्बन्धित निकायले निगरानी नगर्दा अधिकांश कुखुराजन्य वस्तु बजारमा बिक्री भईुकेका छन् ।