बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रका करीब ४१ हजार कुखुरा मकवानपुर प्रशासनले भोलि शनिबार विहानबाट नष्ट गर्ने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा कुखुरा किसान, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी सहित आज बसेको बैठकले उचित क्षतिपुर्ति सहित संक्रमित क्षेत्रका कुखुरा नष्ट निर्णय गरेको हो । बैठकको निर्णयानुसार प्रतिगोटा जिउदो लेयर्स ९ सय रुपैयाँ, व्रोईलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधि भित्र रहेका करीब ४१ हजार कुखुरा नष्ट हुने छन् । साथै बैठकले संक्रमित क्षेत्रलाई अतिसम्वेदनशील क्षेत्र घोषणा गरेको छ भने जिल्ला प्रशासन कार्यालयले मकवानपुरबाट अन्य जिल्लामा कुखुराजन्य वस्तु ओसारप्रसार, बिक्री वितरणका लागि पशु विज्ञले स्वस्थ्य रहेको प्रमाणित गरेपछि मात्रै लैजान दिने भएको छ ।
सो क्षेत्रमा रहेका कुखुरामा एच नाईन ( गम्वारो, रानिखेत ) सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले गत फागुन १३ गते जानकारी दिएको भएपनि कुखुरा मर्न नरोकिएको र अनपेक्षित रुपमा कुखुरा मरेको किसानको गुनासो पछि संक्रमित क्षेत्रबाट १० वटा नमुना संकलन गरेर करीब २ साता अघि जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाउँदा बर्डफ्लु देखिएको थियो । तर रिपोर्ट आउन ३ साता भन्दा बढी लाग्दा अधिकांश कुखुरा मरिसकेका थिए । साथै संक्रमित क्षेत्रलाई सम्बन्धित निकायले निगरानी नगर्दा सो क्षेत्रबाट संक्रमित कुखुराजन्य वस्तु बजारमा बिक्री समेत भएका थिए ।
सो क्षेत्रमा ५० किसानले ७ करोडको लागतमा करीब १ लाख कुखुरा पालन गरेका छन् । बैठकमा पशु सेवा बिभागका बरिष्ठ पशु चिकित्सक रामकुमार कार्की, पशु चिकित्सक बिकेश राउत र प्रबिधिक प्रकाश मगर, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी, सञ्चारकर्मी, कुखुरा किसान, तीन वटै सुरक्षा निकाय, सरोकारवाला सहितको सहभागिता रहेको थियो ।