हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रका करीब ४१ हजार कुखुरालाई मकवानपुर प्रशासनले आज शनिबार विहानबाट नष्ट गर्न शुरु गरेको छ । कुखुरा नष्ट गर्ने क्रममा आज बेलुकी सम्ममा करीब ९ हजार कुखुरा नष्ट गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख चेतनारायण खरेलले जानकारी दिएका छन् । खरेलका अनुसार संक्रमित क्षेत्र भन्दा अन्य स्थानमा रोग नसर्ने उपाय समेत सँगसँगै अवलम्बन गरिएको बताएका छन् ।
आज विहान मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, कुखुरा किसान, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी सहित बसेको संयुक्त बैठकले प्रतिगोटा जिउदो लेयर्स ९ सय रुपैयाँ, व्रोईलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय पश्चात संक्रमित क्षेत्रका कुखुरा नष्ट गर्न लागिएको थियो ।
कुखुरा नष्ट गर्ने कामलाई आज रातभर समेत जारी राखिने जनाईएको छ । टोलीले संक्रमित क्षेत्रका करीब ४१ हजारनै कुखुरा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिएका छन् । संक्रमित क्षेत्रबाट १० वटा नमुना संकलन गरेर करीब ३ साता अघि जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाउँदा बर्डफ्लु देखिएको थियो । तर रिपोर्ट आउन ढिलो हुँदा अधिकांश कुखुरा मरिसकेका थिए । साथै संक्रमित क्षेत्रलाई सम्बन्धित निकायले निगरानी नगर्दा सो क्षेत्रबाट संक्रमित कुखुराजन्य वस्तु बजारमा बिक्री समेत भएपछि उपभोक्ता हित संरक्षण मञ्चले चासो व्यक्त गर्दै आवाज उठाएको थियो ।