लक्ष्य भन्दा ९ प्रतिशत बढी मुद्दा फछर्यौट
हेटौंडा: उच्च अदालत पाटन हेटौंडा इजलाशले आर्थिक वर्ष २०७५–०७६ मा लक्ष्य भन्दा १० प्रतिशत बढी मुद्दा फछर्यौट भएको छ । आज बिहीवार हेटौंडा इजलाशले पत्रकारहरुसँग अन्तक्रिया गर्दै लक्ष्य भन्दा बढी मुद्दा फछर्यौट गर्न सफल भएको जानकारी दिएको छ ।
इजलाशले असार २५ गतेसम्म ७९ दशमलव ४९ प्रतिशत मुद्दा फछर्यौट गरेको जानकारी दिएको छ । यो आवमा ७० प्रतिशत मुद्दा फछर्यौट गर्ने लाक्ष्य इजलाशले राखेको थियो ।
इजलाशले १ हजार ४ सय ५३ लगतमा असार २५ गतेसम्म १ हजार १ सय ५५ मुद्दा फर्छयौट गरेको छ । २ सय ९८ मुद्दा फछर्यौट हुन बाँकी रहेको इजलाशले जनाएको छ । इजलाशले गत आर्थिक वर्षमा ७६ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको थियो ।
गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशत मुद्दा बढी फछर्यौट गरेको हो । इजलाश हेटौंडाले यो आवमा अझै ३ दिन काम गर्न बाँकी रहेको भन्दै मुद्दा फछर्यौट ८० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । १८ महिना नाघेको मुद्दा ५ वटा रहेको छ ।
इजलाशले दुनियावादी देवानी मुद्दामा २ सय ४२, दुनियावादी फौजदारी १ सय ३८, सरकारीवादी फौजदारी ६ सय ५१, साधक ३, वाणिज्य २३, निषेधाज्ञा ४८, परमादेश १७, सुरु दे फो १, करार र अवहेलना ४, उत्प्रेषण २३ र बन्दी प्रत्यक्षीकरण ५ मुद्दा फछर्यौट गरेको हो ।
मकवानपुर र चितवनको मुद्दा हेर्ने हेटौंडा इजलाशले जिल्ला अदालतका फैसलाका पुनरावेदन, रिट र बैकिङ कसुर तथा वाणिज्य सम्बन्धीका मुद्दामात्रै हेर्ने गरेको इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् ।
उच्त अदालत पाटन हेटौंडा इजलाशका मुख्य न्यायाधिश टेकराज नेपालले अदालतमा विचौलियाको डर रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले विचौलियाबाट बच्नुपर्ने भएको बताएका हुन् । अदालतलाई बदनाम गर्ने काम भइरहेको उनको भनाई थियो ।
न्यायाधिशहरुले निष्पक्ष र स्वतन्त्र पूर्वक काम गर्दै आइरहेको न्यायाधिश नेपालले बताए । उनले विश्व जगतमा न्यायाधिशहरु ‘रिजर्भ’ भएर बस्ने गरेको बताउँदै नेपाली न्यायाधिशहरु पनि यसरी नै बस्ने गरेको बताए ।
न्यायाधिशहरु खुलेर हिँड्दा जनमानसमा न्याय सम्पादनको हकमा नकारात्मक सोच आउनसक्ने भन्दै ‘रिजर्भ’ बस्नु उपयुक्त रहेको बताए ।
हेटौंडा इजलाशलाई देशभरकै अदालतमा उत्कृष्टता हासिल गरेर देखाउन तत्पर रहेको बताए । विगतका वर्षमा भन्दा क्रमिकरुपमा सुधारको पक्षमा लागिरहेको इजालशका मुख्य न्यायाधिश नेपालले बताए ।