मकवानपुरमा साउन १ गतेबाट सबै क्रसर उद्योग बन्द गरिदै

हेटौडा न्युज
१ श्रावण २०७६, बुधबार ०२:४८
;

आषाढ ३१ । मकवानपुर जिल्लामा हाल सञ्चालनमा रहेका सबै क्रसर उद्योग तथा बालुवा प्रशोधन प्लान्टहरु अनिश्चित कालका लागि बन्द गरिने भएको छ । भोलि साउन १ गते देखि जिल्ला भरका करीब ५० वटा त्यस्ता क्रसर उद्योग र वालुवा प्लान्ट बन्द गरिने भएको हो । जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालको अध्यक्षतामा बसेको ढुङ्गा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समिति मकवानपुरको बैठकले मापदण्ड विपरित सञ्चालनमा रहेका त्यस्ता करीब ५० वटा त्यस्ता क्रसर र वालुवा प्लान्ट बन्द गर्ने निर्णय गरेको हो । 
भोलि साउन १ गते देखि बन्द गरिएका क्रसर उद्योगहरु संघीय सरकार र प्रदेश सरकारको आवश्यक निर्देशन र ऐन कानुन पून व्यवस्थित भएर आएमा सो कानुनको अधिनमा रहेर मात्र उद्योग खोलिने समन्वय समितिका प्रमुख खुलालले बताएका छन् । बर्तमान कानुन अनुसार नदि सिमाना भन्दा ३ सय देखि ५ सय मिटरको दूरी, हाईटेन्सन लाईन भन्दा १ सय मिटरको दूरी, राजमार्ग भन्दा ३ सय मिटरको दूरी, शिक्षण, स्वास्थ्य, पुरातात्विक, सुरक्षा निकाय भन्दा १ किमिको दूरी, निकुञ्जको क्षेत्रबाट २ किमिको दूरी, घनाबस्ती भन्दा २ किमिको दूरी, बनक्षेत्रभन्दा १ किमिको दूरी, पक्की पुल भन्दा ५ सय मिटरको दूरी, अन्तराष्ट्रिय सिमाना भन्दा १ किमिको दूरीमा मात्रै क्रसर उद्योग स्थापना गर्न पाईने नियम छ । ""मकवानपुरमा हाल सञ्चालनमा रहेका कुनैपनि क्रसर उद्योग तथा बालुवा प्रशोधन प्लाण्टले मापदण्ड पूरा नगरेको समितिका सभापति खुलालले बताएका छन् ।  
त्यसैगरी मकवानपुरको चुरे क्षेत्रमा आईई स्वीकृत भएपनि अर्को व्यवस्था नभएसम्म उत्खनन् तथा ठेक्का समेत नलाउने बैठकले निर्णय गरेको छ । बैठकले मकवानपुरको राक्सीराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा नदिजन्य पदार्थ उत्खनन् गरेको परिणाम सहितको विवरण जिल्ला समन्वय समिति मकवानपुरमा तत्काल पेश गर्न निर्णय गरिएको छ । 
समितिको बैठकले केही दिन गरेको निर्णयानुसार मापदण्ड विपरित नियम विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको मोतिदान कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई जरिवाना स्वरुप ७३ लाख १३ हजार रुपैयाँ रकम उपलव्ध गराउन भने पनि सो कन्स्ट्रक्सनले जरिवाना रकम नबुझाएकाले अबिलम्ब नेपाल सरकारको खातामा रकम जम्मा गर्न पुन पत्र काटिएको र रकम जम्मा नगरेमा कन्स्ट्रक्सन प्रालिले ठेक्का लिदा राखिएको बैंक ग्यारेन्टीबाट सो रकम असुल गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवापुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, मकवानपुरका सशस्त्र प्रहरी प्रमुख, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुखसहितको सहभागिता रहेको थियो । 
 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*