बनकरिया बस्तीमा रेडियो सरोबरको तीज
आदिबासी जनजाति अन्तर्गतको लोपोन्मूख जातिको रुपमा रहेको बनकरियाहरुको बस्तीमा नेपाली नारीहरुले मनाउने तीज पर्वको अवसरमा दर खाने कार्यक्रम गरिएको छ । मकवानपुरको हेटौंडाबाट सञ्चालित रेडियो सरोवरले मनहरी गाउँपालिका ४ मा मात्रै रहेको बनकरिया बस्तीमा तीजको दर खाने विषेश कार्यक्रम गरेको छ । महिलाहरुको तीज पर्वले समेत नछोएको बनकरिया समुदायका महिला तथा बालबालिकाहरुलाई तीजको अवसरमा खाईने दर खुवाएर कार्यक्रम गरिएको हो । तीजको अवसरमा सबैजसो शहर केन्द्रित र विभिन्न क्लब, पार्टी प्यालेसमा तीज कार्यक्रम भईरहेको सन्दर्भमा जङ्गलको बीचमा दुखका साथ आफ्नो जीवन निर्वाह गरिरहेको बनकरियाहरुलाई तीजको दर खुवाएर समाजमा सकारात्मक सोचाईको विकास गर्ने उद्देश्य रहेको सो रेडियोका स्टेशन म्यानेजर राजु साश्वत तालिछानेले बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने मनहरी गाऊँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुब खड्का, मकवानपुरका विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बनकरिया बालबालिकाहरुका लागि केही शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । नेपालको मकवानपुरमा मात्रै रहेको १९ घरधुरीमा ८३ जना बनकरियाहरु रहेका छन् ।