सवारी नियम उलंघन गर्ने ५२ जना सवारी चालक कार्वाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आज विभिन्न स्थानमा गरेको सवारी चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने ५२ जना सवारी चालकलाई कार्वाही गरेको छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने १२ वटा ३ पांग्रे अटोलाई कार्वाही गरेको छ । त्यस्तै क्षमता भन्दा बढी भार बोक्ने टिपर १३ वटा, नम्बर प्लेट नराखी सवारी सञ्चालन गर्ने २ वटा अटो, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने जीप, भ्यान ५ वटालाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्वाहीमा परेका सवारी चालकहरुलाई सडक सुरक्षा सम्बन्धी कक्षा लिइनुका साथै ट्राफिक जनचेतना मूलक पर्चा पम्प्लेट समेत वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताएका छन् । आजको कार्वाहीबाट जरिवाना स्वरुप करीब ५७ हजार रुपैया राजश्व संकलन भएको बताईएको छ ।