जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराए
बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराएका छन् ।
दैलेखको गुराँस गाउँपालिका ३ का महेन्द्र शाही र कर्ण शाही, अछाम तुर्माखाँद गाउँपालिका –६ का महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका १ का शेरसिंह धामी सुरुङभित्रै हराएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका ६ जना कामदारमध्ये २ जना भने बाहिर निस्किए पनि चार जना हराइरहेको प्रहरीले जनाएको छ । सुरुङभित्र अक्सिजन नभएर उहाँहरु बेहोस भएका हुनसक्ने बझाङका डीएसपी गणेश लामाले बताउनुभयो ।
अहिले कामदार निकाल्ने प्रयास भइरहेको छ । गएको ५ वर्षदेखि यो जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ ।