अस्थायी शिक्षक संघर्ष समितिका संयोजक यादवसहित ३० जना भन्दा बढी पक्राउ
जनकपुरधाम । प्रदेश २ का ३० जना भन्दा बढी अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहानै तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरु पक्राउ परेका हुन । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना अस्थायी शिक्षकहरुले बनाएका थिए ।
सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने मुख्य माग राखेका छन् । ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितकालाई धनुषा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।
यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।