दुईवटा नक्कली लाईसेन्स बोकेका सञ्जेल प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरीले कार्यालय मकवानपुरले दुईवटा नक्कली लाईसेन्स सहित १ जनालाई पक्राऊ गरेको छ । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी नेतृत्वको प्रहरी टोलीले सडक चेकजाँचको क्रममा एउटै चालकको २ वटा नक्कली लाईसेन्स फेला पारेको छ ।
प्रहरीले कान्तिलोकपथको हेटौँडा–५ पिप्लेबाट ना २ ह ३६९१ नम्बरको अटोका चालक मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शिव सञ्जेलको साथबाट दुईवटा नक्कली लाईसेन्स बरामद गरेको थियो । बरामद गरिएको सवारी लाईसेन्समा ५–५९५२१ र ०५–६२३४२७ नम्बरको रहेको छ । दुबै लाईसेन्समा ठेगाना, जन्ममिति र ब्लडग्रुप फरक रहेको भएपनि बाबुको नामथर र नागरिकता नम्बर एउटै रहेको प्रहरीले जनाएको छ ।
सरकारी कागजात किर्ते गरेमा ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ । पक्राउ परेका चालक सञ्जेललाई सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।