अपहरणमा संलग्न ५ जना मकवानपुर प्रहरीद्वारा पक्राऊ, अपहरित व्यक्तिको सकुशल उद्धार

हेटौडा न्युज
३ पुष २०७६, बिहीबार ०१:५०
;

अपहरणमा परेको करीब ८ घण्टापछि मकवानपुर प्रहरीले एक जनालाई सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अपहरणमा परेका रामेछाप दोरम्बा वडा नम्बर ५ का नरेश थापा मगरलाई हेटौंडा ९ को लामसुरेबाट सकुशल उद्धार गरेको हो । आज बिहान करीब ३ बजे अम्लेखगञ्जबाट काठमाडौं जान लागेका थापा मगरलाई हेटौंडा ४ को फरेष्ट्री क्याम्पस अगाडिबाट अपहरण गरेको प्रहरीले जनाएको छ । 
""बा.२ज ५९५ नम्बरको टक्सीमा काठमाडौं जान लागेका उनलाई अपहरण गरी हेटौंडा ९ लामसुरेकी सरस्वती थापा मगरको घरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको मकवानपुर प्रहरीले जनाउको छ । थापा मगरसँगै रहेका काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का सरोज सापकोटालाई कुटपीट गरी थापा मगरलाई अपहरण गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

अपहरणकारीहरुले उनलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा लिएर गई हेटौंडा वडा नम्बर ९, लामसुरेमा सरस्वती तामाङ्गको घरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।  
प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा काठमाडौं पुरानो बानेश्वरका आशिष सिजापति, कञ्चनपुर जिल्ला श्रीपुरका सुनिता धामी, धादिङ्ग नेत्रवतीका कृष्ण गुरुङ्ग, धादिङ्ग नेत्रवतीका ट्याक्सी चालक आशिक लामा, मकवानपुर, हेटौंडा ९ की सरस्वती तामाङ्गलाई पक्राऊ गरी अघि साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राऊ गरेका उपर अपहरण तथा शरीर बन्धक कसुरमा १० देखि १५ बर्ष सम्मको कैद तथा १ लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*