सुनको जलप लगाई ठगी गरेको आरोपमा दुई जना पक्राउ
सिरहा प्रहरीले सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले बुधबार साँझ मिर्चैयाबाट दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साह रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए ।
लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुले पछि राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाइएको छ ।