बालबालिका अपहरण गरी बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

हेटौडा न्युज
५ पुष २०७६, शनिबार २०:२४
;

प्रहरीले काठमाण्डौबाट बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

स्कुल जान लागेका बालबालिकालाई अपहरण गरी काठमाण्डौ टोखाको होटेल ब्लू स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपहरपछि बच्चाको आमालाई रिहाइका लागि तीन लाख फिरौती माग गरेका थिए ।  

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले बुधबार राति गोरखा घर भएका बिनोद थापा मगर र अर्का एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । 

गत शनिबार काठमाण्डौकी एक महिला आफ्ना बच्चाहरुलाई आफन्तको रेखदेखमा सामाखुसीमा काम विशेषले पोखरा गएकी थिइन् ।
सोमबार उनलाई बच्चाकै मोबाइलबाट अपरिचित आवाजमा फोन आयो । ती अपरिचितले धम्कीको भाषामा भने, ‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, तीनलाख रुपैयाँ फिरौती दिएमात्र छाड्छु ।’ 

फोन गर्ने व्यक्ति थिए, बानेश्वर बस्ने कैलाली धनगढीका २४ वर्षीय आशिष सिंजाली । चिनजानकै व्यक्तिले फोन गरेको र बच्चाहरुले पनि मामा भन्ने गरेकाले सिंजालीले त्यस्तो गरेको पत्याउन ती महिलालाई मुश्किल भयो । तै पनि उनी पोखरा बस्न सकिनन् र सामाखुसीमा छोराछोरीलाई छाडेर गएको कोठमा आइपुगिन् । तर, कोठामा पुग्दा छोराछोरी थिएनन् । 

छोराछोरी कोठामा नभेटेपछि उनले अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौलाई जानकारी गराइन् । प्रहरीका अनुसार आशिषले ती बच्चाहरुलाई ‘तिम्री आमाले तिमीहरुलाई होटेलमा राख्नु भनेको छ’ भन्दै ब्लूस्टार होटेलमा लगेर बन्धक बनाएका थिए । 

मगरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*