मकवानपुरको बकैँयामा प्रधानमन्त्री रोजगार कार्यक्रम अलपत्र, योजना पेस गर्न समस्या
मकवानपुरको बकैया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत योजना पेस गर्न समस्या परेको छ ।
योजनाका तालमेल नमिल्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना पेस गर्न समस्या परेको हो । योजना पेश नहुँदा गाउँपालिकामा रोजगार कार्यक्रम नै प्रभावित बनेको छ ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार पुँजीगत २५ प्रतिशत र मानव संसाधनतर्फ ७५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था छ।
तर बकैया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकामा सञ्चालन हुने योजनाहरूमा मानवसंसाधनभन्दा पुँजीगत खर्च बढी हुने भएकोले योजना प्रस्ताव गर्न नसकिएको जनाएको छ ।
गत मङ्सिर २५ गते भित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सबै स्थानीय तहहरूले आफ्ना रोजगार कार्यक्रमको योजना पेस गर्नुपर्ने समससिमा तोकिए पनि योजनाहरूको टुड्डो नलाग्दा पेस गर्न नसकेको गाउँपालिकाले जनाएको छ ।
रोजगार कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष १ सय दिन रोजगार प्रदान गर्न ३४ करोड १६ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । तर, बजेट खर्च गर्ने गाउँपालिकासंग कार्यक्रम नरहेको बताइएको छ ।
अघिल्लो वर्ष भने गाउापालिकाले रोजगार कार्यक्रममा करिब ३२ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।
गाउँपालिकाको तथ्याङ्क अनुसार हाल गाउँपालिका भर ३ हजार ६ सय ६० जना युवा बेरोजगार रहेका छन् ।